काठमाडौँ । सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि जानकारी दिइन् ।
बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र एआईजी किरण बज्राचार्यलाई सीआईबीबाट प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ ।