काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाका सात स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्ने अभियानअनुरुप कपिलवस्तुका सात स्थानीय तह बिहीबार आबद्ध भएका हुन् ।
कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको स्थानीय तहसँगको एकदिने कार्यशाला गोष्ठीका क्रममा कोष र सात स्थानीय तहका प्रतिनिधिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कोषमा आबद्ध हुने स्थानीय तहहरुमा वाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, विजयनगर गाउँपालिका र शुद्दोधन गाउँपालिका छन् ।
कार्यक्रमका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सामाजिक सुरक्षा योजना कपिलवस्तुका सबै गाउँपालिकामा लागू गरिए मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
त्यस्तै बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठले जहाँ असुरक्षा हुन्छ, त्यहाँ नै सामाजिक सुरक्षाको बलियो उपस्थिति रहनुपर्ने धारणा राखे ।
कार्यक्रममा वाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले अनौपचारिक क्षेत्रका श्रमिकका लागि कोषका कार्यक्रम निकै नै उपयोगी हुने देखिएकाले सम्झौता गरेको स्पष्ट पारे ।
कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषले जुनसुकै अवस्थामा पनि आयको निरन्तरताको परिकल्पना गरेको जानकारी गराए । कोषको योजनामा सहभागी भई कपिलवस्तुका स्थानीय तहले देखाएको तत्परता सराहनीय रहेको उनले बताए ।
कार्यक्रममा वरिष्ठ सहायक निर्देशक केदार ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषका विभिन्न योजनाका बारेमा जानकारी दिए । त्यस्तै कोषका बुटवल शाखा प्रमुख खिम कार्कीले कपिलवस्तुका स्थानीय तहको कोषमा आबद्धतासँगै देशभरमा स्थानीय तह कोषमा आबद्ध हुने सवालमा अझ सकारात्मक सन्देश प्रवाह भएको बताए ।