काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानलाई तत्काल दुधको पैसा भुक्तान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द्रप्रसाद शर्मा र पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए । भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलित छन् ।
किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । तर, अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन ।
मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन् । ‘देशभरका हजारौं किसान भुक्तानी नपाएर तड्किएको अवस्था रहेछ । राज्य जनताको अभिभावक भएकाले किसानका पीडा हेरेर बस्न सक्दैन । विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ,’ पुनले भने ।
पुनले राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायीलगायतको भुक्तानी रोक्न नमिल्ने स्पष्ट पारे । जनतालाई डेलिभरीको महसुस गराउनकै लागि आफ्नो कुर्सी सुरक्षित हुँदाहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समिकरण बदलेको उनले दोहोर्याए ।
‘केही गरौं’ भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई बुझेर आफूले काम थालिसकेको उनको भनाइ छ । उनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिन लागिएको हो । चालु आर्थिक वर्षमा ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म ५४ प्रतिशतमात्र खर्च गरेको छ ।
मन्त्री पुनले बजेट समर्पणका लागि शुक्रबारै पत्राचार गर्न कृषिमन्त्री र सचिवहरुलाई भनेका छन् । मन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने सचिव डा. घिमिरले जानकारी दिए ।