• Menu

समय तोकेरै ७७ जिल्लाका सुरक्षा अधिकारीलाई गृहमन्त्रीले दिए चेतावनी

'अबको ९० दिनमा पनि नागरिकले महसुस गर्नेगरी काम भएन भने गम्भीर समीक्षा हुन्छ'

नेपाल प्रफिट

२०८० चैत १, २०:४२

समय तोकेरै ७७ जिल्लाका सुरक्षा अधिकारीलाई गृहमन्त्रीले दिए चेतावनी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सेवा दिने विषयमा गम्भीर भएर काम गर्न ७७ जिल्लाका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सतहत्तरै जिल्लाका जिल्ला सुरक्षा समितिका अधिकारीलाई बिहीबार ‘भर्चुएल’ निर्देशन दिँदै गृहमन्त्री लामिछानेले अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्ने बताए । ‘गएन भने गम्भीर समीक्षा हुन्छ र काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ,’ उनले कडा शब्दमा भने ।

गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन तर अब हिजोको जसरी नचल्ने उनले स्पष्ट पारे । ‘गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नुपर्छ, कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु,’ उनले भने ।

गृहमन्त्रीले जे भने-

– गृह मन्त्रालयले राम्ररी काम गर्न सक्यो भने नागरिकले सरकार छ भन्ने अनुभूत गर्छन् । तर, यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको छ । हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं । समाज बस्न लायक हुँदैन । सहज रुपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निरास हुन्छ । अहिलेको अवस्था त्यही हो । यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो ।

– सरकारले अधिकार दिएका हामीले प्रभावकारी काम गर्न नसक्दा नै समाजमा निरासा बढ्यो । बेथितिमा रमाउने बानी पर्‍यो । समाज कस्तो हुनुपर्छ भन्ने हामीले बिर्सिसक्यौं । मलाई भन्दा तपाईंलाई थाहा छ कहाँ बिग्रिएको र कहाँ सुधार्नुपर्छ भन्ने । तर, खै त बिग्रिएको सुधारेको ?

– अब एकपटक समस्या समाधानको प्रण गरौं । प्रत्येक दिन नागरिकसँग ठोक्किने तपाईं नै हो सरकार, सुधार तपाईंहरुबाटै सुरु गर्नुपर्ने हो । जिम्मेवार भएर काम गर्ने शैली थोरै परिवर्तन गर्दा परिणाम आउँछ । एक–दुई जनाले राज्यलाई चुनौती दिइरहेका छन् । तर, हामी मौनजस्तै छौं । यो क्रम कहिलेसम्म ?

– निर्देशनमा होइन, टिमको सदस्यका रुपमा रुपमा योजनाबद्ध र प्रभावकारी काम गरौं । समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो त ? मेरो तर्फबाट कानुन पालना गर्ने पूर्ण अधिकार तपाईंहरुसँग छ । त्यसको पूर्ण कार्यान्वयन गर्नुस् । कानुनभन्दा माथि निर्देशन हुन सक्दैन । आफ्नो अधिकार राजनीतिक नेतृत्वलाई नसुम्पनुस् ।

– चोटाकोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुन्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन । गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन । गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु । नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन ।

– सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो । सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन । अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस् । होइन उनीहरुले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस् ।

– समस्या लिएर आउनेको तत्काल काम गरिदिनुस् । काम नहुने छ भने कारण भनेर कन्भिन्स गरिदिनुस् । नागरिक समस्या लिएर सिंहदरबार आउनु नपरोस् । समाधान नभएका समस्याचाहिँ तपाईंहरुमार्फत सिंहदरबार आओस् ।

– साहु महाजनले गरीबलाई नतर्साओस् । पीडितको पक्षमा उभिनुस् । पीडितलाई थप पीडा दिने काम नगर्नुस् । किसानका समस्यालाई प्राथमिकता दिनुहोस् । अवैध आयात नियन्त्रण गर्नुहोस् । नेपाली उत्पादनले बजार नपाउने, अवैध आयात भइरहने क्रम रोकिनै पर्छ ।

– तपाईंहरुको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस् । तर, तपाईंको स्वार्थमा उनीहरु (राजनीतिक नेतृत्व)बाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन । अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहिँ कारबाही गर्छु । दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्नुहोस् ।

– अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ ।

बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका छन् ।