काठमाडौं । रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको हो ।
मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान छन् ।
यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रुसी सेनामा भर्ना भएर मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।
मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा हालसम्म रुसी सेनामा भर्ना भएका २ सयभन्दा बढी युवाका परिवारले उद्धारका लागि निवेदन दिएका छन् ।
