ताप्लेजुङ । ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसंस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त अपिल गरेका छन् ।
ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केवलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त अपिल गरेका हुन् ।
अपिलमा पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर रहेको तथा सो शक्तिपिठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकबाट समेत त्यहाँका धेरै सम्प्रदायका नागरिक दर्शन तथा पूजाका लागि आउने गरेकाले यस क्षेत्रको विकासमा थप योगदान गर्नुपर्ने समय आएको उल्लेख छ ।
केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको छ । पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब ३ लाख भक्तजन आउने गरेका छन् । यो संख्यामा गुणात्मक वृद्धि गरेर ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएकाले केवलकार निर्माणलाई गति दिन पनि सरोकारवालाहरुलाई निजी क्षेत्रले आग्रह गरेका छन् ।
अर्बौं रुपैयाँको लगानीमा निर्माण हुने चरणमा रहेको पाथीभरा मुकुमलुङ केवलकारले ताप्लेजुङको आर्थिक विकासमा ठूलो योगदान दिनेमा दुई मत हुनै सक्दैन । यसबाट स्थानीय स्तरमा रोजगारी तथा स्वरोजगारीको सिर्जना गर्ने, जिल्लाको पर्यटन प्रवर्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्धनमा सहयोगी हुने निश्चित रहेकोतर्फ पनि निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ ।
यस्ता गौरवको योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूति सहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने आम निजी क्षेत्रको बुझाइ रहेको पनि अपिलमा उल्लेख छ ।