काठमाडौं । आर्थिक संकटको समयमा व्यापार विस्तार गरी नाफा बढाउनमा नबिल बैंक नै अगाडि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको सात महिनामा २० वाणिज्य बैंकले ३५ अर्ब ४९ करोड २४ लाख खुद नाफा कमाउँदा नबिल एक्लैको नाफा ४ अर्ब रुपैयाँनजिक छ ।
साउनदेखि माघसम्ममा नबिल बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको हो । दोस्रो धेरै नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ । राष्ट्रिय वाणिज्य बैंकले सात महिनामा २ अर्ब ६८ करोड ३० लाख नाफा कमाएको हो ।
ग्लोबल आईएमईले चालु आवको पहिलो सात महिनामा २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
सात महिनामा २ अर्बदेखि ३ अर्बको बीचमा नाफा कमाउनेमा नबिल, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट मेगा र एनआईसी एसिया बैंक छन् ।
समीक्षा अवधिमा १ अर्बदेखि २ अर्बको बीचमा नाफा कमाउनेमा एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइन बैंक, सानिमा बैंक र कुमारी बैंक छन् ।
पाँचवटा बैंकले सात महिनामा पनि अर्बबराबर नाफा कमाएका छैनन् । सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र नेपाल एसबीआई बैंकले माघसम्ममा अर्बभन्दा कम नाफा गरेका हुन् ।
