काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) र मंगोलियाका राजदूतलाई नेपालमा लगानी प्रवर्धन गर्न आग्रह गरेका छन् ।
यूएईका राजदूत अब्दुल्लाह अल सम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मंगोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँगको बुधबारको भेटमा ढकालले लगानी प्रवर्धनका लागि आग्रह गरेका हुन् ।
भेटमा नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे ।
यूएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताका लागि धन्यवाद दिए । उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतहरुलाई जानकारी गराए । भेटमा अब्दुल्लाह अल सम्सीले नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौताको सम्भावनाका बारेमा चासो राखेका थिए ।
त्यसैगरी मंगोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा छलफल गरेका थिए । अध्यक्ष ढकालले नेपालमा जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए । उनले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराए ।