काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ अंकमा उक्लिएको हो । करिब एक महिनापछि आज नेप्से परिसूचकले २१ सय अंक पार गरेको छ ।
परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । विभिन्न ३०५ कम्पनीका १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर ८२ हजार ७४६ पटक खरिद–बिक्री हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बिमा समूह ५.४४, लघुवित्त समूह ५.०५ र होटल तथा पर्यटन समूह ३.९३ प्रतिशतले बढेको छ ।
त्यस्तै बैंक ३.१०, विकास बैंक २.१७, वित्त समूह २.२९, जलविद्युत् ०.९९, लगानी समूह १.८७ र उत्पादन तथा प्रशोधन समूह २.३४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड १.५५, निर्जीवन बिमा ३.१५, व्यापार १.६९ र अन्य समूह १.६४ प्रतिशतले बढेको छ ।
आज पाँच लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य, विन नेपाल, स्वाभिमान लघुवित्त र जालपा सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड १९ लाख ३३ हजार रुपैयाँबराबरको ६ लाख ७३ हजार ७०६ कित्ता सेयर किनबेच भएको छ ।