काठमाडौं । वर्षमान पुन अर्थमन्त्री भएयता सेयर बजार परिसूचक नेप्से करिब ४५ अंक बढेको छ । पुन अर्थमन्त्री नियुक्त भएयताका तीन कारोबार दिनमा नेप्से ४४.९६ अंकले बढेर २००७.६९ बाट २०५२.६५ अंकमा उक्लिएको हो ।
गत साता बुधबार ९.३३ र बिहीबार १३.५१ अंकले बढेको बजार आज २२.१ अंकले उकालो लागेको छ ।
कारोबार रकम पनि बढेको छ । आज ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर ५६ हजार ७२६ पटक खरिद-बिक्री हुँदा दुई अर्ब ९२ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबार २ अर्ब ५८ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
आइतबार जलविद्युत् समूहको उपसूचक ०.१२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक ४.२१ र जीवन बिमा समूहको उपसूचक १.८४ प्रतिशत बढेको छ ।
त्यस्तै बैंकिङ समूह ०.७४, विकास बैंक १.०८, वित्त समूह १.४०, होटल तथा पर्यटन १.१२ र लगानी समूह १.२६ प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह ०.९१, म्युचुअल फन्ड १.०१, निर्जीवन बिमा १.३४, व्यापार ०.६५ र अन्य समूह ०.२८ प्रतिशतले बढेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावरको सेयर मूल्य ७.०६ र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड ९३ लाख २५ हजार रुपैयाँबराबरको चार लाख ३० हजार १३१ कित्ता सेयर किनबेच भएको छ ।