काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ७० अंकको गिरावट आएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुने हल्लाका कारण सोमबार ११७.७ अंकले उचालिएको सेयर बजार मंगलबारको अन्योलसँगै उसैगरी ओरालो लागेको हो ।
एमाले सचिवालय बैठकले सोमबार बिहान अर्थमन्त्रीमा पौडेललाई अघि सार्ने निर्णय गरेको थियो । तर, अपराह्न माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नाम आयो । पौडेलका विषयमा सत्ता गठबन्धनमा सहमति हुने सम्भावना क्षीण देखेपछि लगानीकर्ता अन्योलमा परेका हुन् ।
सेयर बजारमैत्री मानिने पौडेल यसअघि ३ पटक अर्थमन्त्री भइसकेका छन् । उनी पहिलोपटक अर्थमन्त्री भएका बेला २०७३ साउन १२ गते नेप्सेले १८८१ अंकको उचाइ हासिल गरेको थियो ।
त्यसपछि २०७६ मंसिरमा १०९८ अंकसम्म झरेको बजार पौडेल नै अर्थमन्त्री भएका बेला २०७८ असार १ गते ३०२२ अंकमा पुगेको थियो । उनको बहिर्गमनपछि बजारले भदौ २ गते ३१९८ अंकको उचाइ पार गर्यो ।
त्यसपछि ओरालो लागेको बजार कुनैबेला १८ सयदेखि २ हजार आसपास स्थिर जस्तै छ । सोमबार एकाएक नयाँ सत्ता गठबन्धन बनेपछि पौडेल फेरि अर्थमन्त्री बन्ने हल्लाले लगानीकर्ता उत्साहित बनेका थिए ।
मंगलबार बजार ७०.३१ अंकले घटेर २००७.६९ अंकमा झरेको छ । घटेको बजारमा पनि ३३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तै ४ अर्ब ११ करोड ३६ लाखभन्दा बढीको सेयर किनबेच भएको छ ।