• Menu

राजनीतिक समीकरण फेरिँदा सेयर बजारमा अप्रत्यासित उछाल

नेपाल प्रफिट

२०८० फागुन २१, १३:१७

राजनीतिक समीकरण फेरिँदा सेयर बजारमा अप्रत्यासित उछाल

काठमाडौं । नेपाली कांग्रेस र माओवादीबीचको सत्ता गठबन्धन टुटेलगत्तै सेयर बजारमा अप्रत्यासित उछाल आएको छ । डा. प्रकाशशरण महतबाट निराश देखिएका लगानीकर्ता नयाँ अर्थमन्त्री आउने भएपछि उत्साहित बनेसँगै बजार लगातार तेस्रो सर्किट लागेर बन्द भएको छ ।

कारोबार सुरु भएको पहिलो तीन मिनेटमै ४ प्रतिशतले बढेपछि नेप्सेमा पहिलो सर्किट लागेको थियो । त्यसपछि ११ बजेर २४ मिनेटमा खुलेको बजार १ मिनेटमै थप १ प्रतिशतले बढेपछि दोस्रो पटक सकारात्मक सर्किट लाग्यो ।

त्यसको ४० मिनेटपछि १२ बजेर ४ मिनेटमा खुलेको सेयर बजार थप १ प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आजका लागि कारोबार बन्द हो । नेप्से ११७.७ अंकले बढ्दा आज कारोबार भएका दुई बाहेक सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

ग्लोबल आईएमई लघुवित्त र गणपति लघुवित्तबाहेक सोमबार कारोबार भएका सबै २३७ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबार पूरा समय हुन नपाएपछि आज ३७ करोड ५२ लाख रुपैयाँबराबरको मात्र कारोबार भएको छ ।

आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ३६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई अर्थमन्त्री बनाउने निर्णय लिएपछि बजारमा उछाल आएको हो । पौडेल यसअघि तीनपटक अर्थमन्त्री भइसकेका छन् । हरेक पटक उनी अर्थमन्त्री बन्दा बजार बढेका कारण लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएको हो । तर, गठबन्धनले कसलाई कुन मन्त्रालय दिने भन्ने निर्णय गरिसकेको छैन ।