काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बुधबार स्थिर जस्तै देखिँदा महँगा तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । बुधबारको सर्किटपछि विशाल बजारको सेयर मूल्य प्रतिकित्ता ४ हजार २६, बोटलर्स नेपाल (बालाजु)को १९ हजार ६४१ र बोटलर्स नेपाल (तराई) को सेयर मूल्य १६ हजार १४४ रुपैयाँ पुगेको छ ।
बीपीडब्लू लघुवित्त र चिरख्वा हाइड्रोपावर पनि सर्वाधिक मूल्य बढ्ने ५ कम्पनीमा परेका छन् । बुधबार ७१ कम्पनीको मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ ।
नेप्से परिसूचक बुधबार ०.८७ अंकले घटेर २०००.७७ अंकमा झरेको छ । आइतबार २६.८१ अंकले घटेको बजार सोमबार १३.२८ र मंगलबार ९.३४ अंकले बढेको थियो ।
नेप्से घटे पनि बुधबार कारोबार रकम भने केही बढेको छ । सोमबार १ अर्ब ९८ करोड र मंगलबार १ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार २ अर्ब २ करोडको कारोबार भएको छ ।
बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ ।