काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच समझदारी भएको छ ।
बैंक तथ वित्तीय संस्थालाई भविष्यमा डिजिटल भुक्तानीसम्बन्धी नयाँ सेवा र सुविधा उपलब्ध गराउन सहकार्य गर्नुका साथै अन्तरदेशीय भुक्तानीलाई सहजीकरण गर्ने उद्देश्यका साथ वानप्वाइन्ट र एनसीएचएलबीच समझदारी भएको हो ।
समझदारी पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । बैंक वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वानप्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लाटफर्म उपलब्ध गराउँदै आएको छ ।
हालसम्म १३ वटा वाणिज्य बैंकसहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई वानप्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको छ ।
वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक, नाविल बैंक, एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वान प्वाइन्टले विकास गरेका विभिन्न डिजिटल भुक्तानी प्रणाली र च्यानलहरू प्रयोगमा ल्याइरहेका छन् ।
त्यस्तै आईएमई रेमिट, जीएमई रेमिट, थैली, छिटो पैसालगायतले पनि वानप्वाइन्टको डिजिटल प्लाटफर्म प्रयोगमा ल्याएका छन् ।