• Menu

नेप्से २१०० अंकमाथि, १९९ कम्पनीका लगानीकर्ताले कमाए, ब्याजदर घट्दा बजारमा उत्साह

नेपाल प्रफिट

२०८० माघ २९, १७:३३

नेप्से २१०० अंकमाथि, १९९ कम्पनीका लगानीकर्ताले कमाए, ब्याजदर घट्दा बजारमा उत्साह

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार १५ अंकले बढेको छ । अन्यबाहेकका सबै उपसूचक सकारात्मक बनेपछि समग्र बजार परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ अंकमा उक्लिएको हो ।

बजार बढ्दा १९९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सोमबार बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, बलेफी हाइड्रोपावर र जोशी हाइड्रोपावरको पनि सर्किट लेभरमा कारोबार भएको छ ।

बजार बढ्दा पनि ४५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकम भने आज सामान्य घटेको छ । आइतबार ४ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ३ अर्ब ५६ करोडको कारोबार भएको हो । आइतबार बजार १०.५ अंकले घटेको थियो ।

ब्याजदर घट्दा बजारमा उत्साह देखिएको विश्लेषकहरुले बताएका छन् । बैंकहरुले फागुनका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएको सूचना सोमबार सार्वजनिक गरेका थिए । निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि ब्याजदर घट्छ ।

सेयर बजार र ब्याजदरबीच विपरीत सम्बन्ध रहन्छ । ब्याजदर बढ्दा बजार घट्छ भने ब्याजदर घट्दा बजार बढ्छ । सस्तो ब्याजमा बैंकबाट कर्जा लिएर लगानीकर्ताले सेयर किन्ने गरेको पाइन्छ ।