• Menu

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली, १२ अर्बको शंकास्पद कारोबार

नेपाल प्रफिट

२०८० माघ ९, १९:०८

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली, १२ अर्बको शंकास्पद कारोबार

काठमाडौं । व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट- एफआईयू नेपाल) को मंगलबार सार्वजनिक प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका व्यावसायिक कारोबारमा संस्थागत वा व्यावसायिक खाताबाट नभई व्यक्तिगत खाताबाट रकम लेनदेन गरेर कर छली हुने गरेको देखिएको हो ।

एफआईयू नेपालको वार्षिक प्रतिवेदन २०२२/२३ का अनुसार सन् २०२० जनवरीदेखि सन् २०२२ डिसेम्बरसम्म विश्लेषण गरिएका शंकास्पद कारोबारमध्ये ३७ प्रतिशत कारोबारमा व्यावसायिक प्रकृतिका कामका लागि व्यक्तिगत बैंक खाता प्रयोग भइरहेको देखिएको छ ।

यसरी व्यावसायिक प्रकृतिको कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग भएर गरिने शंकास्पद लेनदेनको संख्या मासिक औसत ६५ वटा रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘यो प्रकृतिको शंकास्पद कारोबार भनेर वित्तीय जानकारी इकाइमा आउनेमध्ये ४८ प्रतिशत सामित्व व्यवसायसँग सम्बन्धित, ३३ प्रतिशत प्राइभेट लिमिटेडसँग सम्बन्धित र १९ प्रतिशत व्यवसाय कस्ता प्रकृतिका कम्पनी हुन् भन्ने खुलेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘क्षेत्रगत रुपमा व्यापार, उत्पादन, होटल तथा रेस्टुराँ, ट्राभल, मेडिकललगायतका क्षेत्रमा यस्तो कारोबार बढी भइरहेको छ ।’

एउटै व्यवसायको कारोबारका लागि धेरैवटा बैंक खाता प्रयोग हुने गरेको पनि भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी व्यावसायिक कारोबारमा व्यक्तिगत खाता प्रयोग हुनेमा कम्पनीका सञ्चालक, सेयरधनी, परिवारका सदस्य तथा कर्मचारी बढी हुने गरेको प्रतिवेदनमा औँल्याइएको छ ।

वित्तीय जानकारी इकाइले २०४ कारोबारको अध्ययन तथा विश्लेषण गरेकामा ११३ कारोबारलाई थप अध्ययन तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग तथा आन्तरिक राजस्व विभागमा पठाएको छ । प्रतिवेदनअनुसार ती कारोबारमा शंकास्पद कारोबार भएको रकम १२ अर्ब रुपैयाँबराबर छ ।

कर छलीका लागि व्यावसायिक कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग गरिनुलाई गम्भीर समस्याका रुपमा औँल्याउँदै प्रतिवेदनले यस्तो कार्य रोक्नका लागि सबै नियामक र सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने सुझाव दिएको छ ।