• Menu

वाणिज्य बैंकहरुको डरलाग्दो तथ्यांक, प्रफिट खोई ? नौ वटाको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै

नेपाल प्रफिट

२०८० माघ ७, २१:२६

वाणिज्य बैंकहरुको डरलाग्दो तथ्यांक, प्रफिट खोई ? नौ वटाको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै

काठमाडौं । वाणिज्य बैंकहरुको अहिले प्राप्त ताजा तथ्यांकमा सुधार नआए सिधै प्रफिट अर्थात् नाफामै हिट गर्ने भएको छ । अर्थतन्त्रमा छाएको आर्थिक सुस्तताको प्रभाव बैंकहरुको कर्जा असुलीमा पर्नुले यसलाई स्पष्ट गरेको छ । आर्थिक गतिविधि बढ्न नसक्दा बैंकका ऋणी साँवाब्याज भुक्तानी गर्न नसक्ने स्थितिमा पुगेका हुन् ।

फलत: सञ्चालनमा रहेका २० मध्ये १७ वटा बैंकको खराब कर्जा उच्च दरमा बढेको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ४७ प्रतिशतले बढेको छ ।

अर्थतन्त्रमा छाएको आर्थिक सुस्तताको प्रभाव बैंकहरुको कर्जा असुलीमा परेको छ । सञ्चालनमा रहेका २० मध्ये १७ वटा बैंकको खराब कर्जा उच्च दरमा बढेको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ४७ प्रतिशतले बढेको छ ।

२०७९ पुसमा औसत २.२२ प्रतिशत रहेको वाणिज्य बैंकहरुको खराब कर्जा २०८० पुससम्ममा ३.२६ प्रतिशत पुगेको हो । बैंकहरुको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै छ ।

कृषि विकास, सिद्धार्थ र नबिलबाहेकका सबै बैंकको खराब कर्जा बढेको छ । समीक्षा अवधिमा कृषि विकास बैंकको खराब कर्जा ४.५२ बाट ३.०२ प्रतिशतमा झरेको छ ।

त्यस्तै सिद्धार्थ बैंकको २.८७ बाट २.५६ प्रतिशतमा नबिल बैंकको खराब कर्जा १.४६ बाट १.२ प्रतिशतमा झरेको छ ।

अरु १७ बैंकको खराब कर्जा बढेको छ । सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको छ । कुमारी बैंकको खराब कर्जा गत वर्ष पुसको ३.१५ बाट बढेको ४.९७ प्रतिशत पुगेको छ ।

एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम छ । २०८० पुसमा एभरेष्टको खराब कर्जा ०.७७ प्रतिशत छ । २०७९ पुसमा बैंकको खराब कर्जा ०.५५ प्रतिशत थियो ।

अन्यको कति पुग्यो ?

नेपाल एसबिआई बैंकको खराब कर्जा ०.४७ प्रतिशतबाट बढेर २.२९ प्रतिशत ।

लक्ष्मी सनराइज बैंकको खराब कर्जा १.५६ प्रतिशतबाट बढेर ४.६७ प्रतिशत ।

प्रभु बैंकको खराब कर्जा १.९८ प्रतिशतबाट बढेर ४.९ प्रतिशत ।

सानिमा बैंकको खराब कर्जा ०.७७ प्रतिशतबाट बढेर १.७२ प्रतिशत ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.७२ प्रतिशतबाट बढेर १.६ प्रतिशत ।

हिमालयन बैंकको खराब कर्जा ३.७७ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ३.७१ प्रतिशतबाट बढेर ४.७५ प्रतिशत ।

ग्लोबल आइएमई बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत ।

नेपाल बैंकको खराब कर्जा ३.११ प्रतिशतबाट बढेर ४.५ प्रतिशत ।

प्राइम बैंकको खराब कर्जा २.८१ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत ।

सिटिजन्स बैंकको खराब कर्जा २.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २.७९ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत ।

एनएमबि बैंकको खराब कर्जा २.२४ प्रतिशतबाट बढेर २.८६ प्रतिशत ।

माछापुच्छ्रे बैंकको खराब कर्जा १.४१ प्रतिशतबाट बढेर २.६२ प्रतिशत ।

एनआईसी एशिया बैंकको खराब कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत ।

प्रोभिजनसम्बन्धी व्यवस्था

बैंकहरुले वित्तीय मध्यस्थताको काम गर्छन् । मूलत: सर्वसाधारणबाट संकलन गरेको निक्षेप र प्रवाह गरेको कर्जाबीचको मार्जिन नै बैंकहरुको आम्दानी हो ।

सर्वसाधारणको सम्पत्ति भएकाले बैंकहरुले साँवाब्याज असुल हुन सक्ने अवस्था हेरेरमात्रै कर्जा प्रवाह गर्ने गर्छन् । तर, कोरोनाकालमा नेपाल राष्ट्र बैंकले दिएको सुविधाको उपयोग गर्न नसकेका बैंकहरु अहिले खराब कर्जा असुलीको बढी दबाबमा परेका छन् ।

घरजग्गामा गएको बैंकहरुको कर्जा असुलीमा बढी समस्या देखिएको छ । आर्थिक सुस्तताका कारण घरजग्गा कारोबारमा मन्दी छाउँदा बैंकहरुमा खराब कर्जा उच्च दरमा बढेको छ ।

बैंकहरुले प्रवाह गरेको कर्जाको साँवाब्याज एक वर्षसम्म पनि असुली नभएमा त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने व्यवस्था छ । एक वर्षसम्म पनि साँवाब्याज भुक्तानी नभएमा बैंकले शतप्रतिशत प्रोभिजन गरेर उक्त कर्जालाई खराब कर्जामा राख्नुपर्ने हुन्छ ।

बैंकहरुले प्रवाह गरेको कर्जाको साँवाब्याज एक वर्षसम्म पनि असुली नभएमा त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने व्यवस्था छ । एक वर्षसम्म पनि साँवाब्याज भुक्तानी नभएमा बैंकले शतप्रतिशत प्रोभिजन गरेर उक्त कर्जालाई खराब कर्जामा राख्नुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जालाई वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १ प्रतिशत प्रोभिजन अनिवार्य गरिएको हुन्छ ।

एक महिनादेखि ३ महिनासम्म साँवाब्याज भुक्तानी नभएको कर्जालाई वाचलिस्टमा राखेर ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । त्यस्तै ३ देखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।

बैंकले दिएको कर्जाको साँवाब्याज ६ महिनादेखि १ वर्षसम्म भुक्तानी नभएमा त्यस्तो कर्जालाई शंकास्पद कर्जा मानेर ५० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकहरुले कर्जा प्रोभिजनका लागि राखेको रकम एक वर्षको अवधिमा ८५.४५ प्रतिशतले बढेको छ । सम्भावित कर्जा नोक्सानीबापतको प्रोभिजनका लागि वाणिज्य बैंकहरुले राखेको रकम २०७९ पुसमा १४ अर्ब ७९ करोड ५१ लाख रहेकोमा २०८० पुसमा २७ अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

प्रफिट घट्दै

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै समयमा बैंकहरुले ३१ अर्ब ९४ करोड २३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका थिए ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १६ बैंकको नाफा घटेको छ भने चार बैंकको मात्रै बढेको छ । हिमालयन, कृषि विकास, एभरेष्ट र प्राइम बैंकको मात्रै नाफा बढेको हो ।