• Menu

नवलपरासीका ९ स्थानमा १६ लाख लागतमा डिपट्युबवेल निर्माण सुरु

नेपाल प्रफिट

२०८१ असोज ४, शुक्रबार ११:५३

नवलपरासीका ९ स्थानमा १६ लाख लागतमा डिपट्युबवेल निर्माण सुरु

नवलपरासी । पश्चिम नवलपरासीमा सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत रामग्राम नगरपालिका-१३ मा डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण थालेको हो ।

नगरपालिकाले सिँचाइ सुविधा नभएका सुक्खा क्षेत्र छनोट गरी २ करोडको लागतमा ९ स्थानमा सिँचाइको व्यवस्था गर्न डिपट्युबेल जडानलाई तीव्र गतिमा अघि बढाएको छ ।

रामग्राम नगरपालिका-१३ बाट काम सुरु भएको र आवश्यकताअनुसार अन्य स्थानमा पनि डिपट्युबेल जडानलाई तीव्रता दिइने नगरप्रमुख धनपत यादवले बताए । किसानलाई सिँचाइको सुविधा दिनसके आर्थिक अवस्था सुधारमा टेवा पुग्ने भएकाले नगरपालिकाले सिँचाइका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।

सिँचाइ सुविधा नहुँदा नगरका केही स्थानमा अकासे पानीको भर पर्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै नगरपालिकाले चालु आर्थिक वर्षमा सिँचाइ पूर्वाधार निर्माणमा प्राथमिकता दिएको जनाएको छ ।

रामग्रामका अधिकांश परिवार कृषिमा आश्रित छन् । रामग्राम-१३ पाडाटिकरमा १६ लाख लागतमा डिपट्युबेल निर्माण सुरु भएको छ । उक्त डिपट्युबेलमार्फत एक सय ५० बिघाभन्दा बढी जग्गामा सिँचाइ सुविधा पुग्नेछ ।

सिँचाइको सुविधा नहुँदा समस्या भएको बताउँदै स्थानीय समाजसेवी अवधराज यादवले अब सिँचाइ कार्यक्रम विस्तार हुने खबरले आफू उत्साहित भएको बताए ।

वडाध्यक्ष असनारायण चौधरीले वडा नं १३ भित्रै अन्य स्थानमा पनि भूमिगत सिँचाइको व्यवस्था गर्नसके कृषि उत्पादनमा वृद्धि हुने बताए । नगरपालिकाका कृषि शाखा प्रमुख किरणकुमार गुप्ताले रामग्राममा कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रम विस्तारमा जोड दिए ।