• Menu

सेयर बजारमा २७.७५ अंकको वृद्धि, जलविद्युतले उचाल्यो नेप्से

नेपाल प्रफिट

२०८० पुस १, २१:५१

सेयर बजारमा २७.७५ अंकको वृद्धि, जलविद्युतले उचाल्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.७५ अंकले बढेको छ । आइतबार १.३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २०२२.३५ अंकमा उक्लिएको छ ।

आज २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर १ लाख एक हजार १२८ पटक खरिद‑बिक्री हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बैंकिङ समूहको उपसूचक ०.६७, म्युचुअल फन्डको ०.४२ र व्यापार समूह ०.२३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह ५.५५ र लगानी समूह ३.१२ प्रतिशतले बढेको छ ।

११ वटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल, थ्री स्टार हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दोर्दीखोला जलविद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र रिडी पावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १२ लाख ९० हजार ७४६ रुपैयाँबराबरको १७ लाख ८० हजार ६३५ कित्ता सेयर किनबेच भएको छ ।