• Menu

पर्सामा बिमाप्रतिको आकर्षण बढेन

नेपाल प्रफिट

२०८१ असोज १, १७:३३

पर्सामा बिमाप्रतिको आकर्षण बढेन

पर्सा । आर्थिक र औद्योगिक नगरीको रुपमा परिचित पर्सा जिल्लामा जीवन बिमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ । बिमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बिमाप्रतिको आकर्षण न्यून देखिएको हो ।

नेपाल बिमा प्राधिकरणका अनुसार आर्थिक बर्ष २०८०/८१ सम्मको अवधिमा जीवन बिमा शुल्क संकलनमा पर्साको हिस्सा १.८८ प्रतिशत मात्रै छ । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आर्थिक र औद्योगिक नगरीको रुपमा पर्सा चिनिए पनि जीवन बिमा र निर्जीवन बिमाप्रति सर्वसाधारणको आकर्षण न्यून रहेको जानकारी दिए ।

‘‘जिल्लामा आव २०८०/८१ सम्मको अवधिमा जीवन बिमा तर्फ जारी बिमालेख संख्या १२ हजार ५५ रहेको छ,’ उनले भने, ‘जीवन बिमाको सक्रिय बिमालेख संख्या १२ लाख ३ हजार ४ सय ७७ छ ।’ प्राधिकरणका अनुसार गत आवमा जिल्लामा जीवन बिमाको भुक्तानी संख्या ६ हजार ८ सय २० रहेको थियो । सो अवधिमा दाबी भुक्तानी रकम ८७ करोड ८८ लाख रहेको छ ।

जिल्लामा आव २०८०/८१ सम्म जारी निर्जीवन बिमा लेख संख्या ८४ हजार ७ सय २३ रहेको छ । सो अवधिमा निर्जीवन बिमातर्फ बिमा शुल्क संकलन एक अर्ब १३ करोड १६ लाख रहेको छ ।

त्यस्तै निर्जीवन बिमा शुल्क संकलनमा जिल्लाले २.७५ प्रतिशत मात्र हिस्सा ओगटेको छ । जिल्लामा निर्जीवन बिमाको दाबी भुक्तानी संख्या २ हजार ५ सय ६७ रहेको छ । सो अवधिमा निर्जीवन बिमाको दाबी भुक्तानी रकम ६४ करोड ८२ लाख रहेको छ ।