• Menu

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढ वर्ष बित्दा १६ प्रतिशत मात्रै काम

नेपाल प्रफिट

२०८१ असोज १, १६:५३

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढ वर्ष बित्दा १६ प्रतिशत मात्रै काम

चितवन । मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । ३ वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।

पृथ्वी राजमार्गमा पर्ने नागढुंगा-मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागदुंगा-मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । नागदुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ-मुग्लिनका सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्सांकन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो ।

भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ ।

उनका अनुसार हाल ५ वटा पुलको जग र पिल्लर निर्माण भएको छ । नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट विस्तार र सडक चौडा भइरहेको छ । यस सडकका ८ पुलमध्ये ६ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये ५ वटाको काम भइरहेको उनले जानकारी दिए । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुंगिएकाले काम सुरु हुनसकेको छैन । हुग्दीको पुल वर्षातपछि थालिने उनले बताए ।

सडक स्तरोन्नति विश्व बैंकको सहयोगमा थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले ४ अर्ब ८० करोडमा ठेक्का सम्झौता गरेको छ । यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइँदैछ । हाल यो सडकको चौडाई ७ मिटर छ ।

अब सडक कम्तीमा ९ मिटर चौडाइको बन्ने आयोजना कार्यालयले जनाएको छ । बाक्लो बस्तीका चार ठाउँमा सडक चार लेनको बन्नेछ । विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर ७.५ किलोमिटर सडक ४ लेनको बन्ने छन् । ४ लेन सडक १४ मिटर फराकिलो हुने जनाइएको छ ।

राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद् काम गर्नुपरेको उनको भनाइ छ । वर्षात्को समयमा काम गर्न कठिन भएकाले हिँउद लागेपछि कामले तीव्रता पाउने उनले बताए ।