तनहुँ । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्यप्त मौज्दात रहेको छ । चालु आर्थिक वर्षमा मलको मूल्य निर्धारण र मागअनुसार आपूर्ति सहज भएपछि जिल्लामा रासायनिक मल पर्याप्त मौज्दात रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका शाखा प्रबन्धक दिनेश शर्माले अनुसार माग भएबमोजिम मल आपूर्ति हुनुका साथै ठेकेदारले समयमा ढुवानी गरेकाले मलखाद पर्याप्त रहेको बताए । उनले भने, ‘यस वर्ष रासायनिक मल अभाव छैन । मागअनुसार मल आपूर्ति भइरहेको छ । कृषकले समस्या झेल्नुपरेको छैन ।’ युरिया, डिएपी, पोटास र कृषि चुन पर्याप्तमात्रामा गोदाममा रहेको उनले जानकारी दिए ।
युरिया, डिएपी, पोटास र कृषि चुन गरी कूल ३ सय ६० मेट्रिकटन रासायनिक मल गत साउन र भदौमा बिक्रीवितरण गरिएको शाखा प्रबन्धक शर्माले बताए । उनका अनुसार युरिया ३ सय २४, डिएपी दुई सय ४८, पोटास १५ र कृषि चुन छ मेट्रिकटन मल गोदाममा मौज्दात छ ।
‘चालु आर्थिक वर्षको साउन र भदौसम्म युरिया दुई सय ७०, डिएपी ३१, पोटास ७ र कृषि चुन १५ मेट्रिकटन बिक्री भइसकेको छ,’ शर्माले भने । कम्पनीको प्रदेश कार्यालय वीरगन्जबाट रासायनिक मल आपूर्ति हुँदै आएको उनले बताए ।
युरिया प्रतिबोरा ८ सय ८१.५० पैसा, डिएपी दुई हजार ३ सय ३१.५० पैसा, पोटास एक हजार ७ सय ३१.५० पैसा र कृषि चुन ४ सयका दरले बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।
युरिया प्रतिकेजी १७ रुपैयाँ ६३ पैसा, डिएपी प्रतिकेजी ४६ रुपैयाँ ६३ पैसा, पोटास प्रतिकेजी ३४ रुपैयाँ ६३ र कृषि चुन ७ रुपैयाँ ६० पैसामा मल बिक्री हुँदै आएको छ । गत वर्ष तनहुँमा करिब ६ करोड बराबरको रासायनिक मल खपत भएको थियो ।
पछिल्ला वर्षमा रासायनिक मलको अभाव हुन छोडेको शर्माले बताए । मागअनुसारको मल पाएपछि किसानसमेत हर्षित छन् । व्यास नगरपालिका-५ साँगे सेराका कृषक रामलाल कुमालले यस वर्ष मागअनुसारको मल पाएको बताए । ‘किसानले चाहेका बेलामा पर्याप्त रासायनिक मल पाउँदा खुसी छौँ । धान रोप्ने समयमा पर्याप्त मल पायौँ । त्यसैले किसानलाई खेतीतर्फ आकर्षित गरेको छ,’ उनले भने ।