धनुषा । मधेश प्रदेशको ४ जिल्लामा ८ अर्ब ५१ करोड ७९ लाखको लागतमा ३ सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक २०८०/८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो । केही ठाउँमा थप सडक निमार्ण गर्ने कार्य भइरहेको छ ।
प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती ४ जिल्लामा कूल ३ सय ९३ किमी सडक निमार्ण गर्ने लक्ष्य थियो । यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल निर्माण गरिएका छन् ।
हुलाकी सडक निमार्ण कार्य नेपाल तथा भारत सरकारको लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । हुलाकी सडक निर्माणबाट करिब ३६ लाख नागरिक लाभान्वित हुने उनले बताए ।
‘हुलाकी सडक छेउछाउका जमिनको मूल्य आकासिएको छ, राजमार्गमा पर्ने ठूला तथा साना बजार आर्थिकरुपले समृद्ध हुँदै गएका छन् । राजमार्गमा सवारी साधनको आवागमनमा वृद्धि भएको छ,’ उनले भने ।
कार्यालयबाट प्राप्त विवरणअनुसार निमार्ण भएको हुलाकी सडकमध्ये सिरहामा २९.९८ किमी कमला-बलान सडक, २७.४६ किमीको गोलबजार जमदह लवदी र गरियानी खडग सडक, धनुषामा ३५.५८ किमीको कदम चौक-कप्टौल-निकौरिया सडक, १० किमीको यदुकोहा- खजुरीमहुवा सडक तथा १०.२६ किमीको जनकपुरधाम-जलेश्वर भिठ्ठामोड सडक रहेका छन् ।
यसैगरी महोत्तरीमा निर्माण भएका सडकमा २० किमी लामो जनकपुर-बसविटी-वलुवा-हर्दिपोखर–भिण्डा–सङ्ग्रामपुर सडक निमार्ण गरिएको छ । सर्लाहीमा २२.४८ किमी लामो वेल्हीत्रिभुवन नगर सडक, २१.२० किमी लामो फुलजोड-त्रिभुवन नगर सडक तथा ४०.३७ किमी लामो शितलपुर-मलंगावा-खरैयाटोल सडक, २६.५९ किमी लामो नवलपुर-मलंगावा तथा ४०.५८ किमी लामो नयाँ रोड-बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किमी सडक निर्माण सम्पन्न भएका छन् ।