काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५०.७३ अंक अर्थात् १.८८ प्रतिशतले घटेर २६३७.७९ को अंकमा झरेको छ । लगातार ६ कारोबार दिन घटेर गत साताको कारोबारको अन्तिम दिन उच्च अंकले बढेको सेयर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ ।
आज ३२४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर एक लाख १९ हजार ७३९ पटक खरिद–बिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो ।
आजको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । वित्त समूह ३.५३ र होटल तथा पर्यटन समूह ३.६८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ ०.९३, विकास बैंक २.५१, जलविद्युत् १.४८, लगानी २.८ र जीवन बिमा समूह २.७४ प्रतिशतले घटेको छ ।
आज २१९ कम्पनीको सेयर मूल्य घट्दा २५ वटाको मात्रै बढेको छ । जसमध्ये रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६४ करोड ३८ लाख ६६ हजार ७८० रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने सिङ्गटी हाइड्रो इनर्जीको नौ लाख ३४ हजार ५७८ कित्ता सेयर किनबेच भएको छ ।