• Menu

सन् २०१९ पछि दोस्रो पटक ब्याजदर कटौती गर्दै युरोपेली केन्द्रीय बैंक, फेड पनि घटाउने तयारीमा

नेपाल प्रफिट

२०८१ भदौ २८, शुक्रबार १२:०४

सन् २०१९ पछि दोस्रो पटक ब्याजदर कटौती गर्दै युरोपेली केन्द्रीय बैंक, फेड पनि घटाउने तयारीमा

एजेन्सी । मुद्रास्फीतिमा आएको कमी र आर्थिक परिदृश्यमा सुधार हुँदै गएपछि युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर कटौती गर्ने तयारी गरेको छ । बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा बढाइएका ब्याजदरहरु मुद्रास्फीति दर घटेसँगै कम गर्न थालिएको हो ।

जर्मनीको फ्रयांकफर्टमा रहेको ईसीबीले गएको जुनमा निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ३.७५ प्रतिशतमा झारेको थियो । ईसीबीको गभर्निङ काउन्सिलले त्यसयता ब्याजदर स्थिर राखेको छ ।

मुद्रास्फीतिमा सुधार आएकाले आउँदो बिहीबार ०.२७ प्रतिशतले ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको छ । ब्याजदर कटौती भए व्यवसायी र युरोपका बासिन्दालाई राहत मिल्नेछ । युरो प्रयोग गर्ने २० देशका लागि मौद्रिक नीति तय गर्ने ईसीबीले सन् २०१९ पछि एक पटकमात्र ब्याजदर कटौती गरेको छ ।

बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्गर स्माइडिङले ईसीबीले दरहरू घटाउन चाहेको पुष्टि गरेका छन् । आगामी दिनमा मुद्रास्फीति थप घट्ने आकलनका बीच नीति निर्माताहरूले ढुक्कसाथ ब्याजदर कटौती गर्न लागेका हुन् ।

युरो जोनको मुद्रास्फीति अगस्टमा तीन वर्षयताकै न्यून विन्दुमा झरेको छ । उपभोक्ता मूल्यवृद्धि एक वर्ष अघिको तुलनामा २.२ प्रतिशतमा खुम्चिएको छ, जुन जुलाईको २.६ प्रतिशतभन्दा पनि कम हो ।

सन् २०२२ अक्टोबरमा रुसले युक्रेनमाथि गरेको आक्रमणपछि आपूर्ति शृंखला प्रभावित हुँदा खाद्यान्न र ऊर्जाको लागत बढेपछि मुद्रास्फीति दर १०.६ प्रतिशतसम्म पुगेको थियो ।

अमेरिकी फेडरल रिजर्भ पनि हालैका सुधारिएका तथ्यांकका कारण अर्को सातादेखि ब्याजदर कटौतीको थालनी गर्ने तयारीमा छ । यसले पनि ईसीबीलाई निर्णय लिन आत्मविश्वास बढेको बताइएको छ ।

ईसीबी प्रमुख क्रिस्टिन लेगार्डको बैठकपछिको पत्रकार सम्मेलनलाई अर्थशास्त्री, लगानीकर्ता र व्यवसायीले नजिकबाट नियालिरहेका छन् । सेप्टेम्बरपछिको ब्याजदर कटौतीको निर्णय वित्तीय बजारको मूल्यभन्दा बढी जटिल र विवादास्पद हुन सक्ने आईएनजी बैंकका अर्थशास्त्री कार्स्टन ब्रेजेस्कीले बताएका छन् ।