काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
सिंगापुरमा बिहीबार आयोजित एक समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका छन् ।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्ति छन् ।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेस्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको छ । बैंकले अहिलेसम्म बैंक अफ दी इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक अवार्ड २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ११ सयभन्दा बढी सेवा केन्द्र, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने सुविधा दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।