काठमाडौं । सेयर बजार परिसूचक नेप्से केही दिनयता लगातार ओरालो लागिरहेको छ । गत साताको बुधबारदेखि लगातारको बजार घट्ने क्रमले आज मंगलबारसम्म पनि निरन्तरता पाएको छ ।
मंगलबार व्यापार समूह बढ्दा होटल समूह स्थिर छ । बाँकी सबै समूह ओरालो लाग्दा समग्र बजार परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ अंकमा ओर्लिएको छ ।
नेप्से बुधबार ९०.७३, बिहीबार १२.१, आइतबार २५.४६ र सोमबार ५५.८६ अंकले घटेको थियो । आज कारोबार रकम पनि ७ अर्ब २४ करोड ५५ लाखमा खुम्चिएको छ । बजार घट्दा पनि ६७ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
बुधबारयता नेप्से परिसूचकमा १९७.२६ अंकको गिरावट आएको छ । गत साताको बुधबार २८३०.२ अंकबाट कारोबार खुलेको बजार मंगलबार २६३२.९४ अंकमा झरेको छ ।
त्यस्तै साउन ३१ गतेको उच्च विन्दुबाट नेप्से १२.२६ प्रतिशतले ओरालो लागेको छ । साउन ३१ गते इन्ट्र डे कारोबारमा ३०३६.६४ अंकसम्म पुगेको नेप्से अन्तिममा ३०००.८१ अंकमा झरेर बन्द भएको थियो । त्यस्तै भदौ २ गते इन्ट्रा डेमा ३००४८.१५ अंकसम्म पुगेको थियो ।
त्यसयता नेप्से परिसूचक ३६७.८७ अंक घटेको छ । सेयर बजार विश्लेषकहरुले यसलाई नेप्सेमा करेक्सन आएको भनिरहेका छन् । उनीहरुका अनुसार नेप्सेको अघिल्लो बुलिस यात्राका क्रममा करिब १३ प्रतिशतसम्मको करेक्सन आएको थियो ।
सेयर बजार विश्लेषक रवीन्द्र भट्टराई यसअघिको बुलमा १२ प्रतिशतभन्दा बढीको करेक्सन आएको बताउँछन् । ‘अहिले पनि त्यही भइरहेको छ, बैंकको ब्याजदर घटिरहेको छ, प्रणालीमा पैसा प्रशस्त छ, सेयर बजारका लागि यो अनुकूल समय नै हो,’ उनले भने, ‘सेयर बजारमा उतारचढाव प्राकृतिक कुरा हो, अहिले बजार घट्ने बेला भएको हो भन्ने लाग्दैन ।’
अघिल्लो बुल २९ जुन २०२० को न्यून (११४९.१८) बाट सुरु भएर १९ अगस्ट २०२१ को उच्च (३२२७.११) मा पुग्दा उच्च र न्यूनको समयावधिमा ६ वटा मुख्य स्विङ्स थिए ।
(१) २ जुलाई २०२० : १३६२.४ (उच्च)
५ जुलाई २०२० : १२४६.८० (न्यून) (ह्रास : -८.४९ प्रतिशत)
(२) २० जुलाई २०२० : १५६०.५९ (उच्च)
९ अगस्ट २०२० : १३६२.७२ (न्यून) (ह्रास : -१२.६८ प्रतिशत)
(३) ३ डिसेम्बर २०२० : २११८.६८ (उच्च)
२१ डिसेम्बर २०२० : १८७३.७९ (न्यून) (ह्रास : -११.५६ प्रतिशत)
(४) २२ फेब्रुअरी २०२१ : २६७६.१६ (उच्च)
१६ मार्च २०२१ : २३६९.५२ (न्यून) (ह्रास : -११.४६ प्रतिशत)
(५) १८ अप्रिल २०२१ : २७६०.०२ (उच्च)
२६ अप्रिल २०२१ : २५००.७४ (न्यून) (ह्रास : -९.३९ प्रतिशत)
(६) १५ जुन २०२१ : ३०६४.०७ (उच्च)
३० जुन २०२१ : २७८२.०१ (न्यून) (ह्रास : -९.२१ प्रतिशत)