काठमाडौं । नेपालमा ५८ वटा देशबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको पाइएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० अनुसार भारतबाट सबैभन्दा बढी ३५ र दोस्रमा रहेको चीनबाट १२ प्रतिशत एफडीआई भित्रिएको छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत छ ।
२०८० असार मसान्तसम्ममा भारतबाट सबैभन्दा बढी १०३ अर्ब ४५ करोड र चीनबाट ३५ अर्ब ४६ करोड भित्रिएको छ । त्यस्तै आयरल्यान्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अस्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिंगापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा छ ।
प्रदेशगत आधारमा नेपालमा रहेको प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१, कोशी प्रदेशमा १४.७ र मधेस प्रदेशमा ८.८ प्रतिशत छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी १ प्रतिशतभन्दा कम छ ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६०.६९ प्रतिशत र इक्विटीमा प्रतिफल (आरओई) करिब ११.६१ प्रतिशत रहेको पाइएको छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये २३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।