काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा आज मंगलबारदेखि सुरु भएको १६औं टाटा इभी नाडा अटो सो २०२४ मा पन्च इभीको बिक्री आरम्भ भएको हो ।
टाटा पन्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको छ । बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन हो । यो अत्याधुनिक प्रविधियुक्त छ ।
१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।
नेपालको विभिन्न भूभागमा गरेको परीक्षणअनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ । पन्च इभीको ब्याट्रीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।
टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनले नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको सफलतापछि पन्च इभी सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् ।
‘भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ,’ उनले भने, ‘पन्च इभीले धेरैभन्दा धेरै नेपाली ग्राहकको पनि मन जित्नेमा हामी पूर्ण विश्वस्त छौँ ।’
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा हर्षित अनि उत्साहित भएको बताए ।
‘लामो समयदेखि नेपाली jlद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभीसँगै नेपाली बजारमा फेरि यही स्थान कायम गर्नेमा हामी विश्वस्त छौँ,’ उनले भने, ‘अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयूभी– पन्च इभीले हाम्रा ग्राहकलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति गराउनेछ ।’
नेपालभर टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ स्टेसन, १५० भन्दा बढी एसी फास्ट चार्जिङ र १५० भन्दा बढी एसी स्लो चार्जिङ नेटवर्क छ । यसैगरी, १६ इभी डेडिकेटेड सेवा सञ्जाल र २२ वटा बिक्री केन्द्र रहेको कम्पनीले जनाएको छ ।