काठमाडौँ । कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ७९.८८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज १११.९६ अंकको गिरावट आएको छ ।
दुई दिनमा १९१.८६ अंकले बजार घट्दा २७८२.६ अंकमा झरेको छ । मंगलबार नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेको हो । आज ३३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर दुई लाख ३४ हजार ३६० पटक खरिद-बिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह ०.४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ ४.९२, विकास बैंक ४.१८, वित्त ४.६९ र लगानी समूह ४.१३ प्रतिशतले घटेको छ ।
त्यस्तै, जलविद्युत् ३.९६, जीवन बिमा ३.६५, उत्पादन तथा प्रशोधन २.९३, लघुवित्त २.९६, म्युचुअल फन्ड १.०९, निर्जीवन बिमा २.४५, व्यापार २.१६ र अन्य समूह ३.८५ प्रतिशतले घटेको छ ।
बजारमा उच्च अंकको गिरावट आउँदा पनि तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्सको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने अपी पावर कम्पनीको १४ लाख ५९ हजार ४५० रुपैयाँबराबरको कारोबार भएको छ ।