• Menu

राजमार्गमा गाडी रोकेर पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा २२ जनाको हत्या

नेपाल प्रफिट

२०८१ भदौ १०, १५:२२

राजमार्गमा गाडी रोकेर पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा २२ जनाको हत्या

एजेन्सी । पाकिस्तानको दक्षिण-पश्चिमी क्षेत्रमा बन्दुकधारीले २२ जनाको गोली हानी हत्या गरेका छन् ।

पाकिस्तानी सरकारी अधिकारीहरूका अनुसार सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो ।

मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भने, ‘पन्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकुहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागेर २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’

पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पन्जाबबाट आएका व्यक्तिको पहिचान गरी गोली हानिएको उनले बताए । काकरका अनुसार आक्रमणमा १९ जना पन्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् ।

जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले यो आक्रमणका लागि बलोच लिबरेसन आर्मी (बीएलए) का लडाकु जिम्मेवार रहेको बताए । बलोच लिबरेसन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकु पृथकतावादी समूह हो ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतको प्रचुरता छ ।