• Menu

निगुरो व्यापार : लगानीबिना नै लोभलाग्दो आम्दानी

रासस

२०८१ भदौ ९, १२:३८

निगुरो व्यापार : लगानीबिना नै लोभलाग्दो आम्दानी
फाइल तस्बिर ।

सर्लाही । बरहथवामा पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरूले स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । सिजनमा प्रायः गृहिणीले हाटबजारमा बहुउपयोगी वनस्पति निगुरो किन्ने गरेका छन् ।

झाडीमा उम्रिने यस वनस्पति कुनै विषादीबिना उत्पादन हुने भएकाले लाभदायक हुन्छ । वनमा आफैँ उत्पन्न हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी नलाग्ने यहाँका स्थानीय बताउँछन् ।

लगानी नलाग्ने भएकाले निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो छ । बरहथवा नगरपालिका–९, मुर्तियाका ३५–४० परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन् ।

१० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो सातादेखि असोजको अन्तिमसम्म गाउँनजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन् ।

मुर्तियाकी सविता कुशवार दैनिक बिहान–बेलुका २ घण्टा घरनजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्छिन् । निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उनले बताइन् । ‘यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ,’ उनले भनिन्, ‘दिनको ७ सय रुपैयाँसम्मको निगुरो टिप्ने गरेको छु ।’

फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उनले बताइन् । वर्षमा ७ महिना टिप्दा १ जनाले ८० देखि ९० हजारसम्म कमाउने गर्छन् ।

निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ । देख्दा निगुरो टिप्ने त हो नि भन्ने लाग्छ तर आम्दानीको राम्रो स्रोत बनेको उनले बताए ।

मुर्तियाका कर्णबहादुर कुशवारले पनि ७ वर्षदेखि निगुरो टिप्ने गरेको बताए । ‘राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु,’ उनले भने, ‘यसको मूल्य सधैँ एकनाश रहन्छ । धेरै घटबढ गर्दैन ।’ उनका बूढाबूढी नै दैनिक निगुरो टिप्न जान्छन् । बिहान–बेलुका निगुरो टिप्न वनमा मुर्तियाबासीको भीड नै लाग्ने गर्छ ।

सोही स्थान बस्ने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ । छिटोछिटो टिप्ने भएकाले दिनमा ७ सय रुपैयाँसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताइन् । ‘फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्,’ उनले भनिन्, ‘दैनिक बिहान–बेलुका २-४ घण्टा खट्दा राम्रो कमाइ हुन्छ ।’ निगुरो टिप्ने काम जागिर जस्तै भएको उनले बताइन् ।

गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हन्छ । ‘गाउँतिरै पनि खोज्ने मान्छे आउँछन्,’ उनले भनिन्, ‘व्यापारीलाई पनि अझै पुगेको छैन ।’ टिप्न सकेजति व्यापारीले लैजान्छन् ।

व्यापारीले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागेको समयमा पैसा दिने गरेको स्थानीयको भनाइ छ । ‘बसिरहनु भन्दा वनमा निगुरो खोज्यो,’ उनले भनिन्, ‘पैसा पनि हुन्छ ।’

निगुरो बेचेर बचत गरेको पैसाले आपतविपतमा गर्जो टार्नदेखि औषधि उपचारमा सहयोग पुगेको स्थानीय नानीमैया कार्कीले बताइन् । ‘निगुरो टिप्न थालेदेखि दुई–चार रुपैयाँका लागि कसैलाई भन्नु परेको छैन,’ उनले भनिन्, ‘त्यस्तो दुःख पनि हुन्न् । केही घण्टा खट्ने हो । २-४ सय भइहाल्छ ।’

यसले ठूलो भरथेग भएको उनले बताइन् । मीठो मसिनो खान, औषधि उपचार र घरखर्च नै धानेको छ । यस क्षेत्रबाट १० वर्षदेखि निगुरो संकलन गर्ने र काठमाडौँका बजारसम्म पुर्‍याउने गरेको व्यवसायी सुनिता महतोले बताइन् ।

उनका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा ५ रुपैयाँ पाउँथे । अहिले जोडी मुठाको २५ रुपैयाँ पाउँछन् । निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उनले जानकारी दिइन् । संकलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतोले गर्ने गरेका छन् ।

यस क्षेत्रका ३५–४० परिवारले दैनिक निगुरो टिपेर ल्याउने उनले जानकारी दिए । ‘दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पुर्‍याउँछु,’ उनले भने, ‘एक बोरामा ८० मुठा हुन्छ । दैनिक हजार मुठा बढी संकलन हुन्छ ।’

निगुरो टिपेर मुर्तियाका स्थानीयले गत आर्थिक वर्ष २०८०/८१ को करिब ७ महिनाको अवधिमा ३० लाख रुपैयाँ आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ । मासिक ४ लाख रुपैयाँबराबरको निगुरो स्थानीयसँग संकलन गरेर बजारमा लैजाने गरेको व्यवसायी महतोको भनाइलाई आधार मानेर केन्द्रले त्यति रकम आर्जन हुने अनुमान गरेको हो ।