• Menu

नेप्सेको बैंकिङ समूहमा स्ट्यान्डर्ड चार्टर्डलाई उछिनेर एभरेस्ट बैंक अगाडि

नेपाल प्रफिट

२०८१ भदौ ५, बुधबार १६:५६

नेप्सेको बैंकिङ समूहमा स्ट्यान्डर्ड चार्टर्डलाई उछिनेर एभरेस्ट बैंक अगाडि

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बैंकिङ समूहका १९ कम्पनीमध्ये एभरेस्ट बैंक सबैभन्दा बढी प्रतिकित्ता मूल्य भएको कम्पनी बनेको छ । लामो समयदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंक प्रतिकित्ता सेयर मूल्य सर्वाधिक भएको कम्पनीका रुपमा दर्ज भएकोमा एभरेस्टले उछिनेको हो ।

बैंक समूहमा स्ट्यान्डर्ड चार्टर्ड र एभरेस्ट सबैभन्दा बढी मूल्य भएका कम्पनी हुन् । नबिल बैंक तेस्रोमा छ ।

बुधबार एभरेस्ट बैंकको प्रतिकित्ता सेयर मूल्य ४३ रुपैयाँ बढेर ७७० रुपैयाँ पुगेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्डको ३९.२० रुपैयाँ बढेर ७५९ रुपैयाँ ९० पैसा पुगेको छ । नबिल बैंकको प्रतिकित्ता सेयर मूल्य ६५८ रुपैयाँ ३० पैसा छ । बुधबार नबिल बैंकको सेयर मूल्य ३ रुपैयाँ ७० पैसा घटेको छ ।

कुन बैंकको सेयर मूल्य (बुधबार) कति ?

एभरेस्ट बैंक – ७७०

स्ट्यान्डर्ड चार्टर्ड – ७५९.९०

नबिल बैंक – ६५८.३०

एनआईसी एसिया बैंक – ५३०

नेपाल एसबीआई बैंक – ४७०

कृषि विकास बैंक – ४१४.९

सानिमा बैंक – ३७०

सिद्धार्थ बैंक – ३६६.९०

नेपाल बैंक – ३१७

प्राइम बैंक – ३०९

हिमालयन बैंक – ३०२

ग्लोबल आईएमई – २८७

लक्ष्मी सनराइज बैंक – २८१.७०

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक – २८१

प्रभु बैंक – २८०

माछापुच्छ्रे बैंक – २७९.९०

एनएमबी बैंक – २७९.१०

सिटिजन्स बैंक – २७३.६०

कुमारी बैंक – २५८.९०

सामान्य बढ्यो नेप्से

नेप्से परिसूचक आज बुधबार सामान्य बढेको छ । कारोबार खुलेको ५ मिनेटमै ३००० अंक पार गरेको नेप्से तीव्र उतारचढाव हुँदै ०.०७ प्रतिशतले बढेर बजार बन्द भएको हो ।

कारोबारको मध्य समयमा नेप्से परिसूचक २९४३.६१ अंकसम्म झरेको थियो । अन्तिममा २.११ अंकले बढेर २९६८.४४ अंकमा उक्लिएको छ ।

आज बैंक, विकास बैंक, वित्त, लगानी र अन्य समूह सामान्य बढे भने बाँकी सबै समूह ओरालो लागेका छन् ।

अघिल्ला दिनहरुको तुलनामा आज कारोबार रकम घटेको छ । आज ३३७ कम्पनीको १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको हो । आइतबार २८ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

आज १०० कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १४० कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिपर्पोज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्