• Menu

पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु, केही स्थानमा आपतकाल घोषणा

नेपाल प्रफिट

२०८१ भदौ ४, १४:३६

पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु, केही स्थानमा आपतकाल घोषणा

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा सोमबार भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले जनाएको छ ।

डन न्युजका अनुसार मनसुनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्‍याउँदा अन्य ११ जना घाइते भएका छन् भने ३ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

जुलाई १ देखि अगस्ट १७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् ।

पीडीएमएका अधिकारी युनस मेंगलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्ला प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताएका छन् । बलुचिस्तानले जुलाई १ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्युजले जनाएको छ ।

वर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ ।

सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड भएको छ । सोहबतपुरकी बलुच उपायुक्त फरिदा तरिनले जुडाइर नदीमा जल सतह बढेको बताइन् । यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको उनले जानकारी दिइन् ।

महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्गहरू खुला रहेको र अधिकारी र ठेकेदारहरूले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताएका छन् ।