काठमाडौं । आसन्न अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले लोकप्रिय आर्थिक एजेन्डाहरू अघि सारेकी छन् ।
उम्मेदवारीयता कमलाले पहिलो पल्ट आर्थिक योजनाहरूको घोषणा गरेकी हुन् । उनका मुख्य आर्थिक एजेन्डामा आवासको लागत घटाउने, मूल्यवृद्धि अन्त्य गर्नेलगायत छन् ।
उपराष्ट्रपति कमला ह्यारिसले नर्थ करोलिनाको रलिइमा आफ्ना आर्थिक योजना सुनाएकी हुन् । कमलाले आफ्ना आर्थिक नीतिहरूले उत्पादनको लागत घटाउन सक्छ र अमेरिकीहरूलाई थुप्रै आर्थिक अवसर दिन सक्छ भनेर मतदातालाइ लोभ्याउने प्रयास गरेकी छन् ।
उपराष्ट्रपति कमलाले आफ्नो आर्थिक योजनाको बारेमा थप विवरणहरू छिट्टै प्रस्ताव गर्ने पनि भनेकी छन् । अहिले सुनाएका योजनाहरूले अमेरिकीहरू जीवनलाई सिधै छुने उपराष्ट्रपति कमलाको दाबी छ ।
कमलाले भनिन्, ‘जब म राष्ट्रपति निर्वाचित हुन्छु, म सबै अमेरिकीहरूका लागि लागत घटाउन र आर्थिक सुरक्षा बढाउने कुरालाई उच्च प्राथमिकता दिनेछु ।’
राष्ट्रपतिको हैसियतमा आफूले खाद्यान्नको मूल्य जस्ता अमेरिकीहरूका लागि आधारभूत एजेन्डाहरूमा पनि ध्यान पुर्याउने उनले बताइन् ।
कमलाले राष्ट्रपति पदका अर्का उम्मेदवार डोनाल्ड ट्रम्पको आर्थिक नीतिको कडा आलोचना गरिन् । ट्रम्पले अमेरिकामा आयात हुने सामानमा १०-२० प्रतिशतले कर बढाउने घोषणालाई उनले बिक्री कर लागू गर्ने प्रयासको रूपमा चित्रित गरिन् ।
घरको लोभ
कमलाले आफ्नो कार्यकालको पहिलो चार वर्षमा ३० लाख नयाँ घर तथा अपार्टमेन्ट बनाइने बताइन् । जबकि, बाइडेनले २० लाख नयाँ घर निर्माणका लागि प्रस्ताव गरेका थिए ।
नयाँ घर पहिलो पटक घर खरिद गर्नेहरूका कर छुटसहित प्रोत्साहन दिने उनको योजना छ । कमलाले स्थानीय सरकारहरूलाई घरबार विहीनहरूलाई लक्षित गरेर आवास कोष बनाउन ४० अर्ब डलरको नयाँ कोषको प्रस्ताव पनि गरेकी छन् ।
यसबाट आफ्नो राष्ट्रपति कालमा मध्यम वर्गका लागि नयाँ घर र सस्तो भाडाका अपार्टमेन्ट निर्माण गरेर अमेरिकाको आवास अभावको अन्त्य गर्नेसहितका आश्वासन बाँडेर कमलाले मतदाताको ध्यान तान्ने प्रयास गरेकी छन् ।
बालबालिका कर क्रेडिटको विस्तार
कमलाले नवजात शिशु भएका परिवारहरूलाई ६ हजार डलरको कर कटौती प्रस्ताव गरेर बालबालिका कर क्रेडिटको विस्तार गर्ने योजना सुनाइन् । रिपब्लिकन उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले पनि उस्तै तर ५ हजार डलरको मात्र कर क्रेडिट विस्तार प्रस्ताव गरेका छन् ।
कमलाले बाल कर क्रेडिटको प्रस्ताव निम्न र मध्यम आय भएका परिवारहरूमा लागू हुने भनेकी छन् ।
मूल्यवृद्धि तल झार्ने
कमलाले पहिलो सय किराना सामानको लागत घटाउन काम गर्ने बताइन् । उनले भनिन् ‘खाना, भाडा, ग्यास, स्कुलको लुगा, प्रेस्क्रिप्सन औषधि- यी सबैको मूल्य घटाइनेछ ।’
उनका योजना साना व्यवसाय लक्षित छन् । किराना पसल, किसान र पशुपालकलाई समेत उनका योजनाले छुने प्रयास गरेका छन् । धेरै मतदाताले अझै पनि कोभिडयता लगातार आर्थिक तनाव महसुस गरिरहेका छन् भन्ने बुझेकी कमलाले मूल्यवृद्धि रोक्ने हतियारलाई मतदातासम्म पुर्याउन खोजेकी छन् ।
(एजेन्सीहरुको सहयोगमा)