काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मुद्रास्फीति ७.७४ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकको आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत छ । २०८० असारमा मुद्रास्फीति ७.४४ प्रतिशत थियो ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत छ भने घ्यू तथा तेल उप–समूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत छ भने यातायात उप–समूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ६.६२ प्रतिशत थियो ।
२०८१ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत छ । २०८० असारमा उक्त समूहको मुद्रास्फीति ७.३८ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८०/८१ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ८.६२ प्रतिशत थियो ।
२०८१ असारमा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१५ प्रतिशत छ । २०८० असारमा उक्त समूहको मुद्रास्फीति ७.४८ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८०/८१ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत छ ।
अघिल्लो वर्ष उक्त क्षेत्रहरुको मुद्रास्फीति क्रमशः ७.५५ प्रतिशत, ८.०० प्रतिशत, ७.५६ प्रतिशत र ७.१२ प्रतिशत थियो । २०८१ असारमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९२ प्रतिशत, तराईको ३.२१ प्रतिशत, पहाडको ३.७७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत मुद्रास्फीति छ ।
२०८० असारमा उक्त क्षेत्रहरुको मुद्रास्फीति क्रमशः ७.७० प्रतिशत, ७.४८ प्रतिशत, ६.९८ प्रतिशत र ८.१९ प्रतिशत थियो ।