• Menu

भदौका लागि नयाँ ब्याजदर सार्वजनिक, २० मध्ये १२ बैंकले घटाए, नेपाल बैंकको सबैभन्दा कम

नेपाल प्रफिट

२०८१ साउन ३२, शुक्रबार १२:१७

भदौका लागि नयाँ ब्याजदर सार्वजनिक, २० मध्ये १२ बैंकले घटाए, नेपाल बैंकको सबैभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरूले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक सूचनाअनुसार १२ बैंकले ब्याज घटाएका छन् भने सात बैंकले स्थिर राखेका छन् ।

प्राइम कमर्सियल बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । ब्याजदर स्थिर राख्नेमा स्ट्यान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारी बैंक छन् ।

त्यस्तै भदौका लागि ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, नेपाल बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ बैंक, प्रभु बैंक, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट बैंक छन् ।

२० मध्ये १२ बैंकले ब्याजदर घटाउँदा औसत ब्याजदर पनि घटेको छ । साउनमा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा ६.५४ प्रतिशत कायम भएको छ ।

भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज ७.४१ प्रतिशत एनएमबी र एनआईसी एसिया बैंकको छ । त्यस्तै सबैभन्दा कम ब्याज नेपाल बैंकको ५.२५ प्रतिशत दिने छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नीतिगत दर ५.५ बाट ५ प्रतिशतमा झारेको छ । त्यस्तै, ब्याजदर करिडोरको माथिल्लो सीमा ७ बाट ६.५ प्रतिशतमा झारिएको छ ।

लगानीयोग्य रकम पर्याप्त भएका बेला राष्ट्र बैंकको नीतिगत लचकताले बैंकहरुलाई ब्याजदर कम गर्न सहज भएको छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदर पनि घट्छ ।