• Menu

राष्ट्र बैंकले रद्द गर्‍यो दुईवटा मनी एक्सचेन्जको इजाजत, धरौटी जफत

नेपाल प्रफिट

२०८१ साउन ३२, शुक्रबार १०:५०

राष्ट्र बैंकले रद्द गर्‍यो दुईवटा मनी एक्सचेन्जको इजाजत, धरौटी जफत

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा मनी एक्सचेन्जको इजाजत रद्द गरेको छ । तोकिएको समयमा नवीकरण नगरेका रेन्बो मनी एक्सचेन्ज प्रालि र कसा मनी एक्सचेन्ज प्रालिको इजाजत राष्ट्र बैंकले रद्द गरेको हो ।

मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम ३ मा भएको व्यवस्थाअनुसार दुवै कम्पनीको इजाजत रद्द गरिएको हो ।

विनियमावलीमा इजाजत पत्रको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ । विनियमावलीको विनिमय १९ को उपविनियम २ मा तीन महिनाभित्र निवेदन दिएमा नवीकरण शुल्क र नवीकरण शुल्कको सतप्रतिशतले हुन आउने रकमबराबरको विलम्ब शुल्क लिएर राष्ट्र बैंकले इजाजत नवीकरण गर्ने उल्लेख छ ।

कानुनअनुसार इजाजत नवीकरण म्याद सकिनुअगावै गर्नुपर्ने हुन्छ । त्यसका लागि भारतीय रुपैयाँ खरिद बिक्री कारोबारका लागि २५ हजार रुपैयाँ र परिवर्त्य विदेशी मुद्राको कारोबारका लागि एक लाख रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ ।

इजाजतका लागि भने भारतीय रुपैयाँ खरिद बिक्री कारोबारका लागि ५० हजार रुपैयाँ र परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि ७५ हजार रुपैयाँ धरौटी राख्नुपर्छ । दुवै कारोबारका लागि एक लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । तोकिएको समयावधिभित्र नवीकरण नगरेपछि राष्ट्र बैंकले रेन्बो र कसाको धरौटी तथा नगद धरौटी जफत गरी इजाजतपत्र रद्द गरेको जनाएको छ ।