• Menu

आइएमईका नवनियुक्त सीईओ पौडेलले सम्हाले कार्यभार, प्राथमिकतामा डिजिटल रेमिट्यान्स

नेपाल प्रफिट

२०८१ साउन ३१, २०:१६

आइएमईका नवनियुक्त सीईओ पौडेलले सम्हाले कार्यभार, प्राथमिकतामा डिजिटल रेमिट्यान्स

काठमाडौँ । आइएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । आइएमई  र जीएमई रेमिट एक भई एकीकृत कारोबार सुरु भएसँगै पौडेलले कार्यभार सम्हालेका हुन् ।

जीएमई रेमिटमा स्थापनादेखि नै सीईओ रहेका पौडेलसँग रेमिट्यान्स क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव छ । आइएमई लिमिटेडको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय र विस्तारित रेमिट्यान्स सेवा प्रदान गर्न थप योगदान दिने बताएका छन् ।

समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवं प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणमा तीव्रता दिने उनले प्रतिबद्धता जनाए । डिजिटल रेमिट्यान्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेका उनले डिजिटल रेमिट्यान्सतर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने विश्वास लिएका छन् ।

यसैगरी रेमिट्यान्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिट्यान्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सिर्जनामा योगदानका लागि तत्पर रहेको पनि सीईओ पौडेलले बताए ।

बुधबार आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार सुरु भएको हो । स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आइएमईले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।