काठमाडौं । आइएमई लिमिटेडले प्राथमिक निष्कासन (आइपीओ) जारी गर्ने भएको छ ।
आइएमई लिमिटेड तथा जीएमई रेमिट प्रालिको संयुक्त कारोबार शुभारम्भको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेड पब्लिकमा जाने जानकारी गराएका हुन् ।
‘हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौँ,’ उनले भने, ‘जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।’
२०५८ जेठ ३० गते स्थापना भएको आइएमई लिमिटेड नेपालको रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनी हो । स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा आरम्भको २४औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा गरी २२५ आइएमई सेन्टर स्थापना गरिसकेको छ ।
त्यस्तै कम्पनीले ७७ जिल्लाका करिब १२ हजार सब-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको जनाएको छ ।
आईएमई लिमिटेड आइएमई ग्रुपअन्तर्गतको संस्था हो, जसको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले गरेका छन् ।