• Menu

आइजीआई प्रुडेन्सियलको खुद नाफामा १५६ प्रतिशतको वृद्धि

नेपाल प्रफिट

२०८१ साउन २९, १२:३९

आइजीआई प्रुडेन्सियलको खुद नाफामा १५६ प्रतिशतको वृद्धि

काठमाडौं । साविक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी गाभिएर बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले व्यवसाय विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार कम्पनीका अधिकांश सूचक सुधारिएका छन् भने नाफामा उच्च बढोत्तरी आएको छ ।

गत वर्षमा कम्पनीले ६१ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले २३ करोड ८४ लाख नाफा गरेको थियो ।

तीन अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ छ । त्यस्तै महाविपत्ति कोषमा ८ करोड १२ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङमा ३४ करोड ६२ लाख र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ छ ।

कम्पनीको बिमा कोषमा ४ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले बिमा शुल्क ७२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २ अर्ब ९ करोड ५६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ आर्जन गरेको हो ।

गत वर्ष कम्पनीले अघिल्लो वर्षको भन्दा ९० प्रतिशत बढाएर १ अर्ब ४१ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ २१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा छ ।