• Menu

नबिल बैंकको नबिल एसएसई फेलोसिपमा आवेदन खुला, कसरी सहभागी हुने ?

नेपाल प्रफिट

२०८१ साउन २९, ११:१४

नबिल बैंकको नबिल एसएसई फेलोसिपमा आवेदन खुला, कसरी सहभागी हुने ?

काठमाडौं । नबिल बैंकको नबिल स्कुल अफ सोसिएल आन्टरप्रेनरसिप फेलोसिप कार्यक्रम २०२४ का लागि आवेदन खुला भएको छ । बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो ।

फेलोसिपमा सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले १४ भदौसम्म आवेदन दिन सक्नेछन् । बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीलाई निःशुल्क तालिम प्रदान गर्नेछ ।

इच्छुक व्यक्तिले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध फाराम भरेर वा क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्नेछन् । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।

कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने कार्यक्रममा सहभागीले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् ।

तालिमपछि उनीहरुले उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौती समाधानका लागि आवश्यक सहयोग पनि प्राप्त गर्नेछन् । यसले व्यवसायमा दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।

हालसम्म नबिल एसएसईअन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसर सिर्जना भएको बैंकले जनाएको छ ।

‘कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्र बलियो बनाउन समेत मद्दत पुगेको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।