• Menu

विद्युतीय सवारी

चीनमा ३५ प्रतिशत बजार हिस्सासहित बीवाईडी पहिलो स्थानमा, दोस्रोका लागि तीव्र प्रतिस्पर्धा

नेपाल प्रफिट

२०८१ साउन २८, १२:३३

चीनमा ३५ प्रतिशत बजार हिस्सासहित बीवाईडी पहिलो स्थानमा, दोस्रोका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं । चिनियाँ बजारमा विद्युतीय कार उत्पादक कम्पनीहरुमा बीवाईडीले लगातार शीर्ष स्थान बनाएको छ । उत्पादन र बिक्रीको आधारमा बीवाइडी शीर्ष स्थानमा रहँदा अरु न्यु इनर्जी भेहिकल उत्पादकहरुको बजार हिस्सा भने निकै तल छ ।

बीवाईडीले पहिलो स्थानमा रहेर ३५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्दा दोस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका कम्पनीहरुको बजार हिस्सा भने ७ प्रतिशतभन्दा तल छ ।

दोस्रो बन्ने प्रतिस्पर्धामा रहेका चार कम्पनीको बजार हिस्सा ५ देखि ७ प्रतिशतको बीचमा छ । अरु पाँच कम्पनीले २ देखि ५ प्रतिशत हिस्सा ओगटेका छन् ।

दुई वर्षयता बीवाईडीले ३५ देखि ४० प्रतिशत बजार हिस्सा ओगट्दा दोस्रो स्थानका लागि टेस्ला, जीएसी एवोन, चांगान, जिली, एलआई अटो, विलिङ जस्ता ब्रान्डबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

सन् २०२४ जुलाईमा पनि ३५.५ प्रतिशत बजार हिस्सासहित बीवाईडी शीर्ष स्थानमा छ भने ६.५ प्रतिशत बजार हिस्सासहित जिली दोस्रो स्थानमा छ । तेस्रो स्थानको एलआई अटोले ५.८ प्रतिशत र चौथो स्थानमा रहेको टेस्ला चाइनाले ५.३ प्रतिशत हिस्सा ओगटेको छ ।

पाँचौँ स्थानमा रहेको चांगानको बजार हिस्सा ५ प्रतिशत छ । छैटौं स्थानमा रहेको विलिङको बजार हिस्सा ४.८, सातौं स्थानको सेरेसको ४.५ र आठौं स्थानमा रहेको चेरीको ३.८ प्रतिशत छ ।

सूचीको नवौं स्थानमा ३.७ प्रतिशत बजार हिस्सासहित जीएसी एवोन र दसौँ स्थानमा २.५ प्रतिशत बजार हिस्सासहित लिप मोटर्स परेको छ । बाँकी २२.६ प्रतिशत हिस्सा अरु कम्पनीले ओगटेका छन् ।