• Menu

नाडा अटो सोमा वर्चस्व जमाउँदै विद्युतीय सवारी साधन

नेपाल प्रफिट

२०८१ साउन २७, आइतबार १६:४९

नाडा अटो सोमा वर्चस्व जमाउँदै विद्युतीय सवारी साधन

काठमाडौं । सवारी साधनको कुम्भ मेला नाडा अटो सो २०२४ मा विद्युतीय सवारी साधन (ईभी)ले वर्चस्व जमाउने भएको छ । विगत वर्षहरुमा इन्धनबाट चल्ने सवारी साधनको पकड रहने नाडा अटो सोमा यसपटक विद्युतीय सवारी साधनको बलियो उपस्थिति रहने भएको हो ।

नाडा अटो सोको गत संस्करणमा पनि ईभीको सहभागिता उल्लेख्य थियो । ईभीमा ग्राहकको आकर्षण उच्च बन्दै गएपछि अटो व्यवसायीहरुले मेलाकै अवसर पारेर अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्रान्डका गाडी भित्र्याइरहेका छन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भदौ ११ देखि १६ सम्म आयोजना हुने नाडा अटो सोमा बीवाईडीको एम-६, टाटाको पन्च, डिपलको एल जेरो सेभेन, अवतार ११, केईको एक्स थ्री प्रो, जिकरलगायत ब्रान्डका गाडी प्रदर्शनीमा राखिने भएको छ ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एम-६ प्रदर्शनीमा राख्न लागेको छ । साइमेक्स इंकले नाडा अटो सोको अवसर पारेर नयाँ मोडलको कार भित्र्याएको हो ।

बीवाईडीले सन् १०१९ मा ल्याएको सोङ म्याक्समा आधारित रहेर एम-६ तयार पारेको बताइएको छ । गाडीमा ७१.७ किलोवाट आवर ब्लेड ब्याट्री छ भने ५ सय किमीभन्दा बढी रेन्ज दिन्छ ।

गोल्छा अर्गनाइजेसनको कम्पनी जीओ अटोमोबाइल्सले केईको एक्स थ्री प्रो भित्र्याउन लागेको छ । लिथियम आयोन फोस्फेट ब्याट्री रहेको यो गाडीको लेन्थ ४४०० एमएम, चौडाई १८३१ एमएम, उचाई १६५३ एमएम र ह्‍विलबेस २६३२ एमएम छ ।

ब्याट्रीको क्षमता ५३ किलोवाट छ भने फुल चार्जमा ४०० किमीसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इमोबिलिटीले पनि केईको एक्स थ्री प्रो नै ल्याउन लागेको छ । एउटै ब्रान्ड भएकाले एउटै स्टलमा गाडी राख्ने विषयमा दुई कम्पनीले छलफल गरिरहेका छन् ।

अटो सोमा टाटाको पन्च ईभी पनि प्रदर्शनीमा राखिने भएको छ । यसअघि नाडा अटो सोमै टियागो ल्याएर ग्राहकलाई आकर्षित गर्न सफल भएको सिप्रदी ट्रेडिङले पन्च ईभी प्रदर्शनीमा राख्न लागेको हो ।

नाडा अटो सोमा अर्को प्रिमियम कार अवतार ११ पनि प्रदर्शनीमा राखिनेछ । दुई ठूला व्यावसायिक घराना चौधरी ग्रुप र एमएडब्लू मिलेर अवतार ११ ल्याउन लागेका हुन् । एक करोड ४५ लाख रुपैयाँ मूल्यको यो कार हालसम्म चार युनिट नेपाल आइसकेको छ ।

त्यस्तै शारडा ग्रुपको पायोनियर मोटोकर्पले चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्रान्ड जिकर ल्याउने भएको छ । कम्पनीले राइट ह्यान्ड ड्राइभ मोडलको जिकर एक्स ल्याउन लागेको हो ।

नेपालमा निकै प्रतीक्षा गरिएको यो गाडीले ४२५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । ६६ किलोवाट क्षमताको ब्याट्री रहेको यो कार १५० किलोवाटको डीसी चार्जरबाट ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौमा १६औँ संस्करणको नाडा अटो सो आयोजना गर्न लागेको हो । प्रदर्शनीमा सवारी साधनका अलावा सवारी साधनका पार्टपुर्जा र वित्तीय सेवा दिने संघसंस्थाको पनि सहभागिता रहनेछ ।

समितिका संयोजक अनुपकुमार बरालले नाडा अटो सोले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्‍याउँदै आएको बताए । सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्तालाई प्रदर्शनीले सकारात्मक ऊर्जा एवं नवीनतम प्रविधिको साक्षात्कार गराउने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्