काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन खुला भएको छ । कम्पनीले निष्कासन गरेको १५० प्रतिशत हकप्रद सेयरका लागि आइतबारदेखि आवेदन खुला भएको हो । कम्पनीको हकप्रदमा भदौ १६ सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले १:१.५ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
बुक क्लोज मिति साउन १ गते भएकाले असार ३१ सम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । आवेदकले नबिल इन्भेस्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् ।
धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ । हकप्रद सेयरको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी हाल ८० करोड रुपैयाँ छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।