एजेन्सी । अमेरिकामा भवनमा ठोक्किएर घाइते वा बेहोस भएका अधिकांश चराको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार हरेक वर्ष भवनहरूमा ठोक्किएर एक अर्बभन्दा बढी चरा मर्ने गरेका छन् ।
अमेरिकामा जंगली चराहरूका लागि प्रमुख खतरामध्ये भवनमा ठोक्किनु एक भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययन भवनमा ठोक्किएर भएका दुर्घटनाबाट हुने चराको मृत्युदर र घाइते भएका चराहरूको संख्यामा मात्र आधारित छ ।
‘प्लोस वन जर्नल’मा प्रकाशित अध्ययन प्रतिवेदनमा अन्वेषकहरूले चराहरूलाई उनीहरूको दीर्घकालीन बाँच्ने दर मूल्यांकन गर्न वन्यजन्तु पुनर्बास केन्द्रहरूमा लगिएको थियो ।
सन् २०१६ र सन् २०२१ को बीचमा अमेरिकाका घटनाहरू अध्ययन गर्ने अन्वेषकहरूले १५२ प्रजातिका चरासहित तीन हजार १ सयभन्दा बढी भवनमा ठोक्किएर भएका दुर्घटनाको रेकर्ड जाँच गरेको र दुर्घटनापछि पुनर्बास केन्द्रहरूमा लगिएका लगभग ६० प्रतिशत चरा मरेका थिए ।
अध्ययनमा सबैभन्दा बढी ठोक्किनेमा सामान्य रूपमा पाइने प्रजातिहरू जस्तैः ढुकुर, अमेरिकी धोबी चरा, उत्तरी कार्डिनल, कुपर्स हक्स र ग्रे क्याटबर्डहरू थिए ।
कीराहरूको अत्यधिक फैलावट नियन्त्रण गर्नेदेखि लिएर बीउहरू फैलाउन मद्दत गर्ने इकोसिस्टमको महत्त्वपूर्ण संवाहक चरा हो भन्ने बढ्दो मान्यताको बीचमा धेरै अमेरिकी सहर र राज्यहरूले नयाँ भवनहरूलाई थप पन्छीमैत्री हुन आवश्यक पर्ने नियमहरू पारित गरेका छन् ।