• Menu

बागलुङका किसान बाँदर आतंकले आजित, एउटा बारीको मकै १० मिनेटमा सोत्तर

नेपाल प्रफिट

२०८१ साउन २६, शनिबार २०:२५

बागलुङका किसान बाँदर आतंकले आजित, एउटा बारीको मकै १० मिनेटमा सोत्तर

बागलुङ । एक दशकअघि बागलुङका ग्रामीण क्षेत्रमा बाक्लो बस्ती थियो । स्थानीयले बारीभरि मकै, कोदो र गहुँ उत्पादन गर्थे तर अहिले ती बस्ती सुनसान छन् । बसाइँसराइ गर्ने क्रम बढ्दो छ । कोही युवा विदेश त कोही सहर छिरिसकेका छन् । गाउँमा अधिकांश बूढापाका मात्रै भेटिन्छन् ।

‘उब्जाउने जमिन त छ तर बाँदरले गरिखान दिँदैन । जेनतेन खेतीपाती गरे पनि भित्र्याउन पाइँदैन, बाँदरले बारीमै नष्ट गरिसक्छ,’ जैमिनी नगरपालिका–४ की मायादेवी पौडेल भन्छिन्, ‘खानैका लागि बजारको अन्नमा भर पर्नुपरेपछि यहाँ बसेर के गर्नु ! भनेर धेरै बसाइँ सर्दैछन् ।’

उनले जीविकोपार्जनका लागि गरिएका बालीनाली बाँदरले नष्ट गरिदिने समस्याले किसान आजित भएको बताइन् । बाँदर आतंककै कारण धेरैले बसाइँ सरिसकेको र बाँकी रहेकाहरू पनि बसाइँसराइ गर्ने मनस्थितिमा पुगेको उनको भनाइ छ ।

एक दशक अघिसम्म गाउँमा देखा नपरेका बाँदर अहिले हुलका हुल बारीमा आउँछन्, तरकारीदेखि खाद्य बाली केही नराखी नष्ट गरिदिन्छन् । जसले गर्दा गाउँका किसान आजित भएका हुन् ।

जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जानेमध्ये गलकोट र जैमिनी नगरपालिका तथा काठेखोला गाउँपालिकाबाट बढी छन् । युवा बिदेसिने र गाउँमा बूढापाका मात्रै भएकाले घर छेउकै खेतबारी झाडीमा परिणत भएका छन् । जसका कारण बाँदरलगायत वन्यजन्तु सजिलै घरमा छिर्ने गरेको स्थानीयले बताएका छन् ।

बाँदरले करेसाबारीमा लगाएका बालीमात्रै होइन, घरको बार्दलीमा झुन्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको कृषक पौडेलले बताइन् । ‘यसपटक पनि बारीमा लगाइएको मकैले घोगा हाल्न थालेसँगै बाँदरले बोट नै सखाप पारिसक्यो । बँचेका बाली जोगाउन एकजना कुरुवा भएर दिनभर खटिनुपर्ने बाध्यता छ,’ उनले भनिन् ।

पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिने गरेको भए पनि अहिले बाह्रै महिना गाउँमै बस्ने गरेको उनले बताइन् । ‘एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, पाँच–सात सयको हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्नँ,’ उनले भनिन् ।

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेल बाँदरले उठिबास लाउने अवस्था आएको गुनासो गर्छन् । ‘बाँदरले बारीमा लगाएको केही पनि बाँकी राख्दैन, एउटा बारीको मकै १० मिनेटमै सोत्तर बनाइदिन्छ, हामीलाई त बाँदरले उठिबास लगाउने भयो, बाँदर धपाउने अनेक उपाय अपनाइयो तर केही लागेन, कहिले त घरभित्रै आएर सबै सामान नष्ट गरिदिन्छ,’ उनले भने ।

पहिले केही आवाज आउने वस्तु बजाउँदा भाग्ने बाँदर अचेल उल्टै मान्छेलाई नै आक्रमण गर्न आउने कारणले थप समस्या भएको कँडेल बताउँछन् । ‘पहिले भाग्ने गरेको बाँदर सचेत निकै चलाख र बाठो हुँदै गएको छ । आवाजमात्रै होइन, मान्छे नै खटिए पनि टेर्दैनन्, उल्टै आक्रमण गर्न आउँछन् । अब सरकारले नै समस्या समाधानका लागि पहल नगर्ने हो भने बाँकी रहेकाहरू पनि गाउँ छाडेर जान बाध्य हुने अवस्था आउँदैछ ।’