कैलाली । सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रलाई सुदृढ बनाउने महत्वपूर्ण कदमको रुपमा धनगढीमा कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरू संगको परामर्श कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको आयोजनामा केन्द्रका अध्यक्ष डीबी बस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
आफ्नो सम्बोधनमा मन्त्री थापाले कृषि क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर यस किसिमको महत्वपूर्ण परामर्शको आयोजना गरेकोमा कृषि उद्यम केन्द्रको प्रशंसा गर्दै स्थानीय स्तरमा उत्पादित कृषि उत्पादनहरूको प्रवर्धन गर्न उत्पादक कृषकका साथै लघु, साना तथा मझौला उद्यमीहरू समेतलाई सहयोग गरी सुदुरपश्चिम प्रदेशको कृषि क्षेत्रलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो प्रदेशभित्र कृषि व्यवसायमा संलग्न व्यवसायीको वर्तमान अवस्था मूल्यांकन गर्ने, उनीहरुका लागि सहयोगी नीतिहरुको लेखाजोखा गर्ने, कृषि उद्यम केन्द्रद्वारा सञ्चालित लघु, साना तथा मझौला उद्यमी सहयोग कार्यक्रममा संलग्न उद्यमीबाट सफलताका कथा साझा गर्ने र आवश्यक नीति तर्जुमाको सिफारिस गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको यो कार्यक्रमका निष्कर्षहरूले स्थानीय, प्रादेशिक र संघीय स्तरका नीति निर्माताहरूलाई सुझाव पेस गर्नेछ ।
कृषि उद्यम केन्द्र बोर्ड सदस्य सुनिता न्हेमाफुकीले प्यानल छलफल सञ्चालन गरेकी थिइन्, जसमा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डा. जगतबहादुर सिंह रावल, प्रदेश कृषि निर्देशनालयबाट खगेन्द्र शर्मा, सुदूरपश्चिम महासंघ उपाध्यक्ष अनिल कुमार, प्रदेश सहकारी संघका माधव शर्मा र असल सिर्जना कृषि सहकारी, लम्कीका कृष्णा घर्तीलाई प्यानालिस्टको रूपमा राखी उद्यमीको वर्तमान अवस्था, सम्भावना एवं चुनौतीका बारेमा छलफल गरिएको थियो ।
कृषि उद्यम केन्द्रका अध्यक्ष बस्नेतले कृषिमा आबद्ध व्यवसायीको अधिकार सुनिश्चित गर्न र नेपालभर कृषि व्यवसायीकरणलाई प्रवर्धन गर्न केन्द्रको निरन्तर प्रयास रहेको जानकारी दिए ।
बस्नेतले स्थानीय उत्पादक र व्यापारीलाई बजारको अवस्था अनुकूल नभएसम्म आफ्नो सामान भण्डारण गर्न सातै प्रदेशका उत्पादन स्तरमा ठूला गोदामको आवश्यकता रहेकोबारे प्रकाश पार्दै गोदाम निर्माण र सञ्चालनमा सरकारको ध्यानाकर्षण गराए ।
बस्नेतले स्थानीय व्वसायी मिलेर बनेको कम्पनीमार्फत कृषि व्यवसायीकरणको नमुना प्रारम्भ गर्न नेपाल उद्योग वाणिज्य महासंघलाई कम्तीमा ५० हेक्टर जग्गा एकै ठाउँमा उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गरे ।
समिटबाट डा. नारायण खनाल र सिचन श्रेष्ठ, सफल पार्टनर्सका आशुतोष तिवारी र कृषि उद्यम केन्द्रका डिल्ली पौडेलले व्यवसाय प्रवर्धनका विविध विषयमा प्रस्तुति दिएका थिए । साथै, कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश लम्सालले भारतको मकैको व्यfवसायिक क्षेत्रको भ्रमणबाट आएका आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रम कृषि उद्यम केन्द्रका कामु प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र जोशीले सञ्चालन गरका थिए ।
सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायमा आबद्ध उद्यमीलाई बढावा दिने, कृषि विकासलाई प्रोत्साहन गर्ने र स्थानीय उद्यमीलाई अनुकूलनको अवस्था सिर्जना गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम सिमिटको सहयोगमा सेप्टेम्बर २०२३ देखि नोभेम्बर २०२४ सम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ६ वटा तराई जिल्लामा सञ्चालित छ । केन्द्रले यस्तै किसिमको कार्यक्रम साउन २१ गते लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गरेको थियो ।