म्याग्दी । म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुने दर बढेर गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको छ भने दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।
आव २०८०/८१ मा २११ उद्योग व्यवसाय दर्ता भएको कार्यालयमा ८४ वटा खारेज भएका छन् । कार्यालयका अनुसार २०८०/८१ मा ३१ उद्योग र ५३ व्यावसायिक फर्म खारेज भएका हुन् ।
आव २०७९/८० मा १४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएका थिए । यो अवधिमा १०१ उद्योग र ११० वटा व्यावसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषानाथ शर्माले बताए ।
आव २०७७/७८ मा ७६२, २०७८/७९ मा ५७० र २०७९/८० मा ३१७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारीपछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायी विदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताए ।
‘व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिडपछिको आर्थिक मन्दीको असरका रुपमा लिएका छौँ,’ उनले भने, ‘वैदेशिक रोजगारीका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज गर्नेहरु पनि छन् ।’
जिल्लामा फेन्सी, हार्डवेयर र होटल तथा रेस्टुराँको व्यापार घटे पनि सटर नै बन्द नभएको अध्यक्ष श्रेष्ठको दाबी छ । उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्म पनि स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गरिन थालेका छन् ।
उद्योग तथा व्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ । आव २०७९/८० मा १९ लाख ४७ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०८०/८१ मा १७ लाख ३८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत वर्ष ३२२ उद्योग र ३९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगमा ३०६ जनाका लागि रोजगारी सिर्जना भएको छ । जिल्लामा हाल दुई हजार ८८९ उद्योग र दुई हजार ५४३ व्यवसाय कायम भएका छन् ।