तनहुँ । दमौली अस्पतालमा डेँगु र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ डेँगु र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ ।
असारदेखि हालसम्म डेँगु र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेको अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक ३५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । ‘उपचारमा आउने बिरामीमध्ये अधिकांश डेँगु र झाडापखालाका छन्,’ उनले भने ।
अस्पतालमा दैनिक डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका हुन् । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनको सुझाव छ । डेंगुका बिरामीमा धेरै टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्छ । ‘सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ,’ उनले भने ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, जमेको पानी हटाउने, लामा बाउला भएका कपडा लगाउने, झुल लगाएर सुत्ने गर्नुपर्छ । दैनिक १०–१५ बिरामी झाडापखालाका उपचार गर्न आउने गरेका छन् ।